१२०
Sharesकाठमाडौं: देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले विभिन्न प्रदेशमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य भागहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
त्यस्तै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुने सम्भावना रहेको छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
महाशाखाले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। भारी वर्षाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षय जस्ता विपद् निम्त्याउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ।