२३
Shares
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपालनजिक रहेको छ।



हाल देशभर साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र कोशी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा बागमती र गण्डकीका तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा समेत वर्षाको सम्भावना छ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
रातिको समयमा पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र महाशाखाबाट जारी हुने मौसमसम्बन्धी सूचनामा अद्यावधिक भइरहन अनुरोध गरिएको छ।






