FLASH NEWS

धादिङ बस दुर्घटना छानबिन प्रतिवेदन गृहमन्त्रीसमक्ष

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ फागुन ३०, शनिबार (१ महिना अघि)
  • १५०

    Shares

धादिङ बस दुर्घटना छानबिन प्रतिवेदन गृहमन्त्रीसमक्ष

गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटनासम्बन्धी छानबिन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ।

गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसेगौँडाबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको थियो। सो घटनाको अध्ययन तथा छानबिनका लागि सरकारले कार्यदल गठन गरेको थियो।

गृहमन्त्री अर्यालले घटनाबारे अध्ययन गरी सडक यातायातलाई सुरक्षित, विश्वसनीय र भरपर्दो बनाउन सुझावसहितको प्रतिवेदन एक हप्ताभित्र पेश गर्न गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्नुभएको थियो।

उक्त कार्यदलले दुई हप्तासम्म अध्ययन गरेर आज गृहमन्त्रीसमक्ष प्रतिवेदन बुझाएको हो। कार्यदलले दुर्घटना कसरी भयो, कसको लापरबाही वा कमजोरीले घटना भएको देखिन्छ तथा घटनामा ज्यान गुमाएका यात्रुका परिवारलाई कस्तो राहत उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा राय दिएको छ।

त्यसैगरी आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन सम्बन्धित निकायहरूले चाल्नुपर्ने विभिन्न कदमबारे पनि प्रतिवेदनमा सुझाव दिइएको छ।

कार्यदलको निष्कर्षअनुसार चालकले कुनै कारणवश सवारी साधनमाथि प्रभावकारी नियन्त्रण कायम राख्न नसक्दा सवारी अचानक अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको देखिएको छ। चालकको थकान, रात्रिकालीन सवारी सञ्चालन तथा सम्भावित ध्यान विचलन दुर्घटनाका कारण हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

कार्यदलले तत्काल सार्वजनिक सवारी चालकका लागि थकान व्यवस्थापन प्रणाली लागू गर्न, रात्रिकालीन बस सञ्चालनमा चालकको अधिकतम कार्य समय तोकी अनिवार्य विश्रामको व्यवस्था लागू गर्न, तथा सार्वजनिक सवारीमा अनिवार्य डिजिटल निगरानी प्रविधि प्रयोग गर्न सुझाव दिएको छ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री अर्यालले कार्यदलले दिएको सुझावलाई चाँडै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त बस दुर्घटनामा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका थिए।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस