FLASH NEWS

आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ फागुपूर्णिमा मनाइँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ फागुन १८, सोमबार (१ महिना अघि)
  • १४३

    Shares

आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ फागुपूर्णिमा मनाइँदै

काठमाडौँ :  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ। केही वर्षअघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ।

सडकमा काम विशेषले हिँड्ने व्यक्तिलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम लगभग बन्द भएको छ। फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन। विशेषगरी युवतीहरूलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो। यस वर्ष भने फागु पर्वको अघिल्लो दिन पनि सहज रूपमा हिँड्डुल गर्न सकेको भक्तपुरको सूर्यविनायकबाट पुतलीसडकमा निजी क्षेत्रमा काम गर्न आउनुभएकी रमा केसीले बताउनुभयो।

यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसहरूले वातावरणलाई रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगी जलाउँछन्। उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारमा काम लाग्ने विश्वासका साथ लुछाचुँडी गरी लिइन्छ र अनिष्ट टर्छ भन्ने विश्वासले चिरको खरानीको टीका लगाइन्छ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकासहित सजाई गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ। आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कतै पनि नरोकाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ।

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले नछुने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भइन् भने भक्त प्रह्लादलाई आगोले छुन सकेन। शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ।

यसैगरी, द्वापरयुगमा श्रीकृष्णलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले विष दलिएको स्तन चुसाउन खोज्दा असफल भई मारिइन्। व्रजवासीहरूले उनलाई जलाएर फागु महोत्सव मनाउने परम्परा चलेको धर्मग्रन्थमा उल्लेख छ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने विश्वास गरिन्छ। यस्ता रङको प्रयोगले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने तथा बालिएको चिरको धुवाँबाट शीतकालका विभिन्न रोगका कीटाणु नष्ट हुने आयुर्वेदिक मान्यता छ।

फागु पर्वका उपलक्ष्यमा सरकारले परम्परादेखि सार्वजनिक बिदा दिँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाइन्छ र सोही दिन सार्वजनिक बिदा दिइन्छ।

यस पर्वका अवसरमा रमाइलोका नाममा नशालु पदार्थ सेवन गरी झैझगडा गर्ने, शरीरमा प्रतिकूल असर गर्ने रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा लोला हिर्काउने जस्ता विकृति भने पछिल्लो समय कम हुँदै गएका छन्। यस दिन विशेषगरी भाङ मिसाइएका परिकार खाई विभिन्न रङमा रङ्गिएर बाजागाजासहित नाचगान गर्दै महिला तथा पुरुषका समूह बिहानदेखि साँझसम्म रमाइलो गर्छन्।

थकाली समुदायले रङ्गीबिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तीर हान्ने प्रतियोगिता गर्छन्। सात दिनसम्म चल्ने यो पर्वमा दाजुभाइ तथा नातेदार भेला भई मीठा परिकार खाई रमाइलो गर्ने परम्परा छ।

रङको पर्व अन्य देशमा

फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि फरक–फरक नाम र शैलीमा मनाइन्छ। इटालीमा ‘बेलियाकोनोन्स’ नामले सुगन्धित जल छर्केर तथा विशेष रङ्गीचङ्गी आभूषण लगाएर खेलिन्छ। चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले नयाँ लुगा र गहना लगाई मनाइन्छ।

अमेरिकामा ‘होबो’ नामले मानिसहरूले हास्यात्मक वेशभूषा लगाई प्रतियोगिता आयोजना गर्छन् र विजेतालाई पुरस्कार दिइन्छ।

त्यसैगरी श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा, म्यान्मार र थाइल्यान्डमा पानीको पूजा, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानसहित स्वागत, चीनको युनानमा देवताको पूजा तथा नाचगान, र इजिप्टमा हास्य–विनोद र नाचगान गरी यो पर्व मनाइन्छ।

फरक–फरक नाम र शैली भए पनि यस पर्वको मूल उद्देश्य आपसी सद्भाव, सामाजिक एकता र भाइचाराको प्रवर्द्धन गर्नु नै हो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस