FLASH NEWS

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन २८, बुधबार (५ घण्टा अघि)
  • २४

    Shares

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं :   बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने शास्त्रीय परम्परा छ। धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीले भक्तजनका आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीनै प्रकारका ताप तथा दुःख नाश गर्ने भएकाले उहाँलाई कुष्माण्डा भनिएको हो।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेर शैलपुत्री देवीको पूजा गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिएको थियो। आज चौथो दिन कुष्माण्डा देवीको आराधना गरिँदै छ।

नवरात्रका नौ दिनसम्म दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गरी देवीको पूजा आराधना गर्ने परम्परा छ। देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

दुर्गा पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवतीलगायत मन्दिरमा भक्तजनको भीड लागेको छ। त्यस्तै, उपत्यकाबाहिरका मनकामना, गढीमाई, बागलुङ कालिका, विन्ध्यवासिनी, शैलेश्वरी र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजन पूजा तथा दर्शनका लागि पुग्ने गरेका छन्।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष पूजा आराधना गरिने र विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका तथा जमरा लगाएर बडादसैँ मनाउने परम्परा छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस