FLASH NEWS

जाजरकोटमा पहिरो : दुई जना बेपत्ता

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण ३१, आईतबार (२ घण्टा अघि)
  • १७

    Shares

जाजरकोटमा पहिरो : दुई जना बेपत्ता

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भेरी नगरपालिका–२ फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए।

पहिरोमा परी अन्य सात जना घाइते भएका छन्। घाइते हुनेमा भेरी–२ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीय भद्राकली कार्की र ४५ वर्षीय सिद्धिबहादुर कामी तथा भेरी–१ का ५२ वर्षीय केदार कार्की, ४५ वर्षीय मनवीर चँदरा, ४७ वर्षीय मोतिकला विक र १६ वर्षीय मनिषा विक रहेका छन्।

घाइतेमध्ये रामबहादुर शाहीको अवस्था गम्भीर रहेको छ। उनलाई जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको प्रहरी निरीक्षक खड्काले बताए।

घाइतेहरूको उद्धारका लागि अस्थायी प्रहरी पोष्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको नेतृत्वमा पाँच जनाको टोली खटाइएको छ।

पहिरोका कारण भेरी नगरपालिका–३ जाजरकोट स्यालाका पूर्णबहादुर विकको छकोठे दुईतले ढुङ्गामाटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ। सोही गाउँका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले पूर्ण रूपमा बगाएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा ११ जना प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म हेडक्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा १० जनाको टोली उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस