
६३
Shares
धादिङ: किराँतहरूले शासन गरेका समयमा किराँच चोक नामले चिनिने स्थान नै आजको किराञ्चोक हो। किराञ्चोक २०३६ सालसम्म धेरै भूभागमा फैलिएको क्षेत्र थियो। अहिले भौगोलिक रूपमा क्षेत्रफल सानो भए पनि पुराना किराञ्चोकवासीहरू आफूलाई अझै पनि किराञ्चोककै बासिन्दा भएको बताउँछन्।



यही गाउँमा २०३२ सालमा कक्षा १ बाट सुरु भएको विद्यालयले आज कक्षा १२ सम्मको पठनपाठन सञ्चालन गरिरहेको छ। विद्यालयले स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाउन लागेको हो।
विद्यालयमा २०४४ सालमा कक्षा ६ सञ्चालन भए पनि त्यसले निरन्तरता पाउन सकेन। पछि २०५२ सालमा प्रवाङबाट किराञ्चोकको तल्लो भाग (बेशी क्षेत्र) का बासिन्दालाई पायक पर्ने दुलनटारमा स्थानान्तरण गरी निम्न माध्यमिक विद्यालय सञ्चालन गरियो। उक्त स्थानमा त्यसबेला पञ्चायत भवन रहेको थियो, जसलाई केही वर्षअघिसम्म भुवन घर नामले पनि चिनिन्थ्यो।
चारवटा प्राथमिक दरबन्दी मात्र रहेको विद्यालयमा निम्न माध्यमिक तह सञ्चालन गर्नु आफैँमा चुनौतीपूर्ण थियो। त्यसमाथि माध्यमिक तह सञ्चालन गर्नु झन् कठिन कार्य थियो। तर सही नेतृत्व, सामूहिक प्रतिबद्धता र स्थानीय जनआवश्यकताका कारण यो सम्भव भयो। २०५८ सालमा देउसी–भैलो खेलेर स्रोत संकलन गरिएको थियो।
विद्यालयले २०५८ सालदेखि माध्यमिक तह सञ्चालन गरेको हो। २०५९ सालको एसएलसी परीक्षा विद्यार्थीहरूले सत्यवती माध्यमिक विद्यालयबाट दिएका थिए भने २०६० सालदेखि आफ्नै विद्यालयबाट एसएलसी/एसईई परीक्षा दिन थालेका हुन्। त्यसैगरी, २०६७ सालदेखि कक्षा १२ को पठनपाठन पनि सञ्चालनमा आएको छ। हालसम्म पनि सप्ताह महायज्ञजस्ता कार्यक्रममार्फत स्रोत संकलन गर्दै आइएको छ।
हालसम्म यस विद्यालयबाट ९८१ जना विद्यार्थीले एसएलसी/एसईई तथा ४९० जनाले कक्षा १२ उत्तीर्ण गरिसकेको विद्यालयकी प्रधानाध्यापक गीता पाण्डेले जानकारी दिइन्। आवासीय विद्यालय सञ्चालन भए पनि अझै व्यवस्थित बनाउन नसकिएको र त्यसलाई व्यवस्थित गर्दै विद्यार्थी संख्या बढाउन महोत्सवबाट संकलित स्रोत परिचालन गरिने विद्यालयको योजना रहेको छ।
विद्यालयको स्वर्ण महोत्सव यही माघ १५ देखि १७ गतेसम्म आयोजना गरिने छ। महोत्सवका अवसरमा विद्यालयको विकासमा योगदान पुर्याएका पूर्व पदाधिकारी, शिक्षक तथा सहयोगीहरूलाई सम्मान, सांस्कृतिक कार्यक्रम, शैक्षिक सामग्री प्रदर्शनी तथा मेला, अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता तथा आर्थिक सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक पाण्डेले बताइन्।






