१०५
Sharesकाठमाण्डौ: गएरातिदेखि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ। लगातारको वर्षाका कारण नदी, खोलामा पानीको बहाव बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बाढी, डुबान र पहिरोको जोखिम भएकाले नदी तटीय क्षेत्र र भिरालो भू–भागमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेषगरी काठमाण्डौको खोकना, मनोहरा, बल्खु, धोबी खोला (कपन, चाबहिल), गोङ्गबु र गौरीघाट क्षेत्रमा पानीको सतह खतराको तह पार गरिसकेको छ।
सिन्धुपाल्चोकको मेलम्ची, मकवानपुरको लालबकैया, तनहुँ–चितवनको त्रिशुली क्षेत्र, बारा, नवलपरासी, बाग्लुङ, सर्लाही, कैलाली, खोटाङ, र मुस्ताङजस्ता जिल्लाहरूमा पानीको सतह उच्च रहेकोले आकस्मिक बाढीको जोखिम बढेको छ।
महाशाखाका अनुसार आज पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान छ। तटीय र होचो भूभागका बासिन्दालाई सुरक्षित स्थानमा जान र नदी किनारबाट टाढा रहन आग्रह गरिएको छ।