१०८
Sharesधादिङ : धादिङको धुनिबेशी नगरपालिका–८ मा महिला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले अचार बनाउने ७ दिने सीप विकास तालिम सुरु भएको छ। उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसीको आयोजना र धुनिबेशी नगरपालिकाको समन्वयमा सोमबारदेखि तालिम सुरु गरिएको हो।
तालिमको उद्घाटन समारोहमा धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता तालिमहरू अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले सहभागी महिलाहरूलाई अनुशासित रही अधिकतम सीप सिक्न आग्रह गर्दै केवल तालिम लिएर बस्ने नभई व्यवसायिक योजनासहित अगाडि आउन प्रेरित गर्नुभयो। “व्यावसायिक सोचका साथ तालिम लिएर आउनेलाई नगरपालिका र वडाबाट आवश्यक सहयोग तथा समन्वय गरिनेछ,” प्रमुख आचार्यले भन्नुभयो।
उहाँले यस्ता तालिमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिँदै, सहभागी महिलाहरूलाई आफूलाई उपयुक्त तालिम छानेर दक्षता हासिल गरी कार्यान्वयनमा ल्याउन पनि अनुरोध गर्नुभयो। प्रमुख आचार्यले उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसीलाई यस्ता महत्वपूर्ण तालिमहरू धुनिबेशीमा ल्याएकोमा धन्यवाद समेत दिनुभयो।
तालिम उद्घाटन कार्यक्रम उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसीका प्रमुख चुडामणि पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा धुनिबेशी नगरपालिकाका पुर्व उप–प्रमुख निरु खरेल, वडा सदस्यहरू, कार्यालयका राजेन्द्र प्रसाद कोइराला, सहजकर्ता रजनी लामा, गंगा लामा सहभागी हुन्ल आउने महिला गायतको उपस्थिति रहेको थियो।
सात दिनसम्म सञ्चालन हुने उक्त तालिम असार २३ गतेसम्म चल्नेछ।