१५४
Sharesधादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिकाको १७औं गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ९३ करोड ३० लाख ३१ हजार रुपैयाँको बजेट पारित गरेको छ।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले आगामी वर्षका लागि नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले पारित गरेको हो। प्रस्तुत नीति तथा कार्यक्रमले कृषि, पशुपालन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालगायत विविध क्षेत्रलाई प्राथमिकता दिएको छ।
नीति तथा कार्यक्रममा विभिन्न प्रेरणादायी नाराहरू पनि समेटिएका छन्, जसमा ‘आर्थिक समृद्धिको आधार, कृषि तथा पशुपालन क्षेत्र विस्तार’, ‘एक वडा एक उत्पादन’, ‘विषादी मुक्त खानपान–बेनीघाट रोराङको शान’, ‘युवामा लगानी, विकासको बिहानी’, ‘जेष्ठ नागरिक सेवामा धर्म’, र ‘एक टोल एक चौतारी–बेनीघाट रोराङको फूलबारी’ उल्लेखनीय छन्।
उपाध्यक्ष टाप बहादुर श्रेष्ठले सभा समक्ष बजेट प्रस्तुत गर्दै सामाजिक समावेशीकरण, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा युवालाई लक्षित रोजगारी सिर्जनालाई बजेटको प्रमुख उद्देश्यका रूपमा उल्लेख गर्नुभयो। उहाँका अनुसार न्याय र समानताको आधारमा सेवा प्रवाह गर्दै समावेशी र सक्षम गाउँपालिका निर्माणको योजना अघि सारिएको छ।
बजेटले नगदेबाली, फलफूल तथा तरकारी खेती प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिने, स्थानीय पूर्वाधार सुदृढ गर्ने, शिक्षा र स्वास्थ्य पहुँचलाई विस्तार गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने जस्ता कार्यलाई प्राथमिकतामा राखेको छ।