FLASH NEWS

वर्षाका कारण विभिन्न सडक अवरुद्ध, केही सडकमा राति सवारी रोक

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ भाद्र ६, शनिबार (५४ मिनेट अघि)
  • ११

    Shares

वर्षाका कारण विभिन्न सडक अवरुद्ध, केही सडकमा राति सवारी रोक

फाइल तस्विर

काठमाडौं :  लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। केही सडकखण्डमा भने रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडकखण्ड प्रभावित भएका छन्।

काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ।

यसैगरी, इलामको राजदुवालीमा हिलो जम्दा मेची राजमार्ग, सिन्धुपाल्चोकको कोदारीमा पहिरो र सडक भासिँदा अरनिको राजमार्ग, रसुवामा नदी कटान र पहिरोका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी तथा पासाङल्हामु सडक अवरुद्ध भएका छन्।

रुकुम पश्चिमको भेरी करिडोर, लमजुङको बेँसीसहर–मनाङ सडक, रोल्पाको घोराही–थवाङ–रुकुम सहिदमार्ग र पाल्पाको सिद्धार्थ राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सडकमा बाढी तथा पहिरोको जोखिम कायम रहेकाले आवश्यक सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस