FLASH NEWS
मौसम

देशभर मनसुनी प्रभाव, बागमतीसहितका प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम
  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८३ भाद्र ६, शनिबार (१ घण्टा अघि)
  • १४

    Shares

देशभर मनसुनी प्रभाव, बागमतीसहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ :  देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

मनसुनी प्रभावका कारण देशभर सामान्यतया बदली भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।

महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभाग र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा स्थानीय खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस