२६
Shares
धादिङ : ICDC नेपालको आयोजनामा सञ्चालित कार्यक्रमको सामाजिक लेखा परिक्षण कार्यक्रम विभिन्न सरोकारवालाहरूको सहभागितामा सम्पन्न भएको छ। कार्यक्रमले संस्थामार्फत सञ्चालन हुँदै आएका गतिविधिहरूको समीक्षा गर्दै आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल र सुझाव संकलन गर्ने उद्देश्य राखेको थियो।



संस्थाका अध्यक्ष गोपाल लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भाइ काजी तिवारी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी गल्छी गाउँपालिका–१ का वडा अध्यक्ष यदुकुमार खतिवडा, वडाका सचिव सरस्वतीकुमारी भट्ट, ICDC कार्यसमिति सदस्य अन्जु श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू, गाउँपालिकाका कृषि, शिक्षा, स्वास्थ्य तथा सहकारी क्षेत्रका प्रतिनिधिहरू, बालक्लब, कृषक समूह तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले संस्थाले सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिबाट स्थानीय समुदायमा परेको प्रभाव, प्राप्त उपलब्धि र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको स्वागत मन्तव्य ICDC नेपालका कार्यक्रम व्यवस्थापक बिनोद रिजालले राख्नुभएको थियो। उहाँले संस्थाले स्थानीय समुदाय, विद्यालय, कृषक समूह, बालबालिका तथा अन्य सरोकारवालासँगको सहकार्यमा सञ्चालन गर्दै आएका गतिविधिबारे जानकारी गराउँदै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।
त्यसैगरी कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक सुरेन्द्र पाठकले संस्थाका कार्यक्रम तथा गतिविधिको समीक्षा प्रस्तुत गर्नुभएको थियो। उहाँले हालसम्म सञ्चालन भएका कार्यक्रम, हासिल भएका उपलब्धि, देखिएका चुनौती तथा आगामी कार्यदिशाका बारेमा विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो। प्रस्तुतीकरणपछि सहभागीहरूबीच कार्यक्रमको प्रभावकारिता, उपलब्धि र सुधार गर्नुपर्ने पक्षका विषयमा छलफल गरिएको थियो।
छलफलका क्रममा सहभागीहरूले स्थानीय आवश्यकता र समुदायको प्राथमिकतालाई केन्द्रमा राखेर आगामी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। शिक्षा, स्वास्थ्य, कृषि, सहकारी तथा बालबालिकासँग सम्बन्धित कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, समुदाय र संस्थाबीचको समन्वयलाई थप मजबुत बनाउनुपर्ने सुझावसमेत सहभागीहरूले दिएका थिए।
कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरूले आफ्ना अनुभव, सुझाव तथा सल्लाह प्रस्तुत गर्दै आगामी दिनमा संस्थाले सञ्चालन गर्ने कार्यक्रमहरूमा स्थानीय सरोकारवालाको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको बताएका थिए। सहभागीहरूले समीक्षा तथा अन्तरक्रियामार्फत विगतका गतिविधिको मूल्यांकन हुनुका साथै आगामी कार्यक्रमका लागि स्पष्ट दिशा तय गर्न सहयोग पुगेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रमका अध्यक्ष गोपाल लम्साले कार्यक्रमको समापन गर्दै समीक्षा तथा छलफलबाट प्राप्त सुझावहरूलाई आगामी कार्यक्रम सञ्चालनमा उपयोग गरिने बताउनुभयो। उहाँले संस्थाका कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, समुदाय, कृषक समूह, बालक्लब तथा अन्य सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन उपस्थित सबैलाई धन्यवाद दिनुभयो।
समीक्षा, छलफल तथा अन्तरक्रियामार्फत संस्थाले विगतका गतिविधिको मूल्यांकन गर्नुका साथै आगामी दिनमा स्थानीय आवश्यकता र सरोकारवालाको सुझावलाई समेटेर कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। उक्त कार्यक्रमको सहजीकरण सञ्चारकर्मी राजाराम डंगोलले गर्नुभएको थियो।






