













३३
Shares
धादिङ: थाक्रे गाउँपालिकाको आयोजनामा सम्पन्न प्रथम बाल महोत्सवले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा अतिरिक्त क्रियाकलापप्रतिको रुचि अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ। तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा पालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।



बालबालिकामा अन्तरनिहित प्रतिभाको पहिचान गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित महोत्सवअन्तर्गत चित्रकला, हस्तलेखन, वक्तृत्वकला, हिसाब दौड, कविता वाचन, एकल गायन, लोक सांस्कृतिक नृत्य, म्युजिकल चियर तथा बेलुन फुटाउनेलगायत विभिन्न प्रतियोगिताहरू सञ्चालन गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा विद्यालयहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
चित्रकला प्रतियोगितामा लुसिड रोज स्कुलका अनुप थापा प्रथम, ब्लुमिङ लोटस इङ्ग्लिस स्कुलका विवेक पटेल द्वितीय तथा लाटीदेवी माध्यमिक विद्यालयकी एलिसा तामाङ तृतीय भएका छन्। त्यस्तै हस्तलेखन प्रतियोगितामा ब्लुमिङ लोटस इङ्ग्लिस स्कुलकी सुनिधी कुँवर प्रथम, न्यू महाकाली एकेडेमीकी सृष्टि रेग्मी द्वितीय तथा मङ्कालेश्वरी माध्यमिक विद्यालयकी सुविना रार्या तृतीय भएकी छन्।
वक्तृत्वकला प्रतियोगितामा सेतिदेवी माध्यमिक विद्यालयकी दीया खतिवडा प्रथम, मङ्कालेश्वरी माध्यमिक विद्यालयकी समिरा चेपाङ द्वितीय तथा आदर्श माध्यमिक विद्यालयकी पूर्णिमा तामाङ तृतीय भएकी छन्। त्यसैगरी हिसाब दौड प्रतियोगितामा ब्लुमिङ लोटस इङ्ग्लिस स्कुलका सिम्रिक प्रजा प्रथम, सेतिदेवी माध्यमिक विद्यालयका जेनिस थापा द्वितीय तथा न्यू महाकाली एकेडेमीका प्रयास रिजाल तृतीय भएका छन्।
म्युजिकल चियर प्रतियोगितामा न्यू महाकाली एकेडेमीका सुसान्त कार्की प्रथम तथा घैडुङदेवी निगाले आधारभूत विद्यालयका रितेश सापकोटा द्वितीय भएका छन्। बेलुन फुटाउने प्रतियोगितामा भगवती आधारभूत विद्यालयका जयराम तामाङ प्रथम तथा मङ्कालेश्वरी माध्यमिक विद्यालयका बसन्त कँडेल द्वितीय स्थान हासिल गर्न सफल भएका छन्।
लोक सांस्कृतिक नृत्य प्रतियोगितामा ब्लुमिङ लोटस इङ्ग्लिस बोर्डिङ स्कुल प्रथम, आदर्श माध्यमिक विद्यालय द्वितीय तथा जनजागृति माध्यमिक विद्यालय तृतीय भएका छन्। उक्त प्रतियोगितामा विद्यार्थीहरूले स्थानीय कला, संस्कृति र परम्परालाई झल्काउने प्रस्तुतिहरू प्रदर्शन गरेका थिए, जसले उपस्थित दर्शकहरूको मन जित्न सफल भएको आयोजकको भनाइ छ।
कविता वाचन प्रतियोगितामा जनजागृति माध्यमिक विद्यालयकी सुजाता अधिकारी प्रथम, ज्योति माध्यमिक विद्यालयकी साहारा लुइँटेल द्वितीय तथा राष्ट्रिय आधारभूत विद्यालयकी प्रकृति सुनार तृतीय भएकी छन्। यस्तै एकल गायन प्रतियोगितामा जनकल्याण आधारभूत विद्यालयकी हर्षिका डङ्गोल प्रथम, लाटीदेवी माध्यमिक विद्यालयकी एलिसा तामाङ द्वितीय तथा निर्जला वाइवा तृतीय भएकी छन्।
महोत्सवको समापन समारोहमा विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको थियो। साथै सहभागी सबै विद्यालयलाई सहभागिता प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापा, पूर्व उपाध्यक्ष अम्बिका रुपाखेती, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल, विभिन्न वडाका वडा अध्यक्षहरू, पूर्व जनप्रतिनिधिहरू, शिक्षा शाखाका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
थाक्रे गाउँपालिकाले पहिलो पटक आयोजना गरेको बाल महोत्सवले पालिकाभित्रका विद्यालयबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने साझा मञ्च उपलब्ध गराएको सहभागीहरूले बताएका छन्।
तिन दिन सम्म संचालन भएको महोत्सब समापन गर्नुहुदै पालिकाका अध्यक्ष रामकुमार आचार्यले बालबालिकाको सर्वाङ्गीण विकासका लागि पाठ्यपुस्तकमा आधारित शिक्षासँगै अतिरिक्त तथा सिर्जनात्मक गतिविधिहरूको भूमिका महत्वपूर्ण रहने बताउनु भयो। यस्ता कार्यक्रमले बालबालिकाको आत्मविश्वास वृद्धि गर्नुका साथै नेतृत्व क्षमता, प्रतिस्पर्धात्मक भावना र सामाजिक व्यवहार विकासमा समेत सहयोग पुग्ने उहाको भनाइ छ।
आगामी वर्षहरूमा पनि यस प्रकारका कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउँदै लैजाने योजना रहेको गाउँपालिको उहाको भनाइ छ।







