


२१
Shares
काठमाडौं : नेपालीहरूको महान् पर्व बडादशैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादशैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ।



बडादशैँको पहिलो दिन आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरिन्छ। यस दिन पूजा कोठा वा दशैँघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको वैदिक विधिअनुसार आह्वान गरी पूजा आरम्भ गरिन्छ।
घटस्थापनाका दिन बिहानै नित्यकर्म सम्पन्न गरी नजिकैको नदी वा पवित्र स्थलबाट बालुवा वा माटो ल्याइन्छ। गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैँघरमा उक्त माटो राखेर त्यसमा यव अर्थात् जौँ रोप्ने परम्परा छ। यस कार्यलाई जमरा राख्ने भनिन्छ।
जौँको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु मानिने भएकाले घटस्थापनाका दिन जौँ रोपेर देवीलाई अर्पण गरिन्छ। विजयादशमीका दिन देवीको प्रसादस्वरूप टीका र पहेँलो जमरा ग्रहण गर्ने चलन छ। जमरालाई समृद्धि, शुभता र दीर्घायुको प्रतीकका रूपमा लिइन्छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार जमरा राख्दा जौँबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि छैन। यद्यपि, कतिपयले कुल परम्पराअनुसार जौँसँगै अन्य अन्न पनि रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ।
बिहान ११ः४७ बजे घटस्थापनाको शुभसाइत
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे रहेको छ। दिनभर चित्रा नक्षत्र रहने भएकाले शास्त्रीय मान्यताअनुसार मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत निर्धारण गरिएको समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए।
सूर्योदयकालमा प्रतिपदा तिथि परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजकै दिनलाई घटस्थापनाका लागि उपयुक्त ठहर गरिएको उनले बताए। सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलाइएको सूचना शास्त्रसम्मत नभएको उनको भनाइ छ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलले विजयादशमीका दिन अभिषेक गरी देवीको प्रसाद ग्रहण गर्ने धार्मिक परम्परा छ।






