FLASH NEWS

थाक्रेमा लैङ्गिक हिंसा विरुद्ध साझा अठोट: इज्जतको डर र आर्थिक परनिर्भरताले महिलालाई पीडा लुकाउन बाध्य पारेको खुलासा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ भाद्र ८, सोमबार (५ घण्टा अघि)
  • ९२

    Shares

थाक्रेमा लैङ्गिक हिंसा विरुद्ध साझा अठोट: इज्जतको डर र आर्थिक परनिर्भरताले महिलालाई पीडा लुकाउन बाध्य पारेको खुलासा

थाक्रे:  धादिङको थाक्रे गाउँपालिकामा लैङ्गिक हिंसा (GBV) न्यूनीकरण र यस सम्बन्धी सरोकारवाला निकायहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले दोस्रो समीक्षा बैठक ICDC को फिल्ड अफिस थाक्रे ६ महादेवबेशीमा सम्पन्न भएको छ।
एक्सन एडको साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत ICDC नेपालले समन्वय गरेको उक्त बैठकमा थाक्रे गाउँपालिकाको महिला तथा बालबालिका शाखा, न्यायिक समिति, स्वास्थ्य शाखा, सेफ हाउस र क्रियाशील संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। मिति २०८३ भदौ ८ गते मा भएको यस बैठकमा समुदायमा लुकेर रहेका हिंसाका गम्भीर स्वरूपहरू, स्वास्थ्य र न्यायिक क्षेत्रले सामना गरिरहेका चुनौती तथा आगामी दिनमा जनचेतना विस्तार गर्ने रणनीतिबारे सघन छलफल भएको थियो। बैठकको निष्कर्षका रूपमा आगामी हरितालिका तीजको अवसर पारेर “तीज गीत प्रतियोगिता” आयोजना गर्ने निर्णय गरिएको छ, जसले महिलाहरूको वास्तविक पीडा र लैङ्गिक हिंसाका सवाललाई सार्वजनिक बहसमा ल्याउने अपेक्षा गरिएको छ।
इज्जतको डर र आर्थिक परनिर्भरताको साङ्लो
बैठकमा सहभागीहरूका अनुसार पारिवारिक इज्जत गुम्ने डर र आर्थिक परनिर्भरताका कारण थाक्रेका धेरैजसो महिलाहरू घरेलु हिंसा सहेर बस्न बाध्य रहेका छन्। ” आफ्नै आँखाले पीडित महिलाहरूको शरीरमा निलडाम देख्दा पनि उनीहरू पारिवारिक इज्जत र छोराछोरीको भविष्यको डरले ‘मलाई केही भएको छैन’ भन्दै पीडा लुकाउँछन्,” एक सहभागीले बैठकमा बताइन्।
बैठकमा उजागर भएको अर्को चिन्ताजनक तथ्य के हो भने, यस्तो प्रवृत्ति अशिक्षित परिवारमा मात्र सीमित नरहेर पढेलेखेका र धनी वर्गमा समेत बढी देखिन्छ, जहाँ इज्जत जोगाउने नाममा हिंसाका घटनालाई गुपचुप राख्ने र पीडितको आवाज दबाउने प्रवृत्ति झन् बलियो रहेको छ।
स्वास्थ्य क्षेत्रमा आएको परिवर्तन: चोटपटकका आधारमा हिंसा पहिचान
विगतमा हिंसाबाट प्रभावित व्यक्तिहरूलाई कहाँ पठाउने र कसरी समन्वय गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीहरूमा नै अन्योल रहेको बैठकमा बताइयो। तर तीन दिने रिफरल प्रणाली तालिम प्राप्त गरेपछि स्वास्थ्यकर्मीहरूको दृष्टिकोण र कार्यशैलीमा उल्लेख्य परिवर्तन आएको छ। स्वास्थ्य क्षेत्रकी प्रतिनिधिले आफ्नो अनुभव साझा गर्दै भनिन्, “पहिला बिरामी आउँथे, उपचार गरेर फर्किन्थे। तर अहिले एउटै महिला पटक-पटक १०-१५ दिनको अन्तरालमा चोटपटक लिएर आउनुभयो भने हामीलाई हिंसाको शङ्का लाग्छ र हामी सोही अनुसार घरायसी पृष्ठभूमि बुझेर काउन्सिलिङ र रिफरल (प्रेषण) गर्छौँ।” यसका बाबजुद, बर्थिङ सेन्टरमा लगातार छोरी जन्मिएपछि श्रीमान् बेपत्ता हुने र सुत्केरी महिलालाई असहयोग गर्ने सामाजिक कुप्रवृत्ति अझै पनि ठूलो मानसिक हिंसाको रूपमा कायम रहेको उनले दुःखका साथ बताइन्।
लुकेर गर्भनिरोधक साधन प्रयोग र असुरक्षित गर्भपतनको तथ्याङ्क
बैठकमा स्थानीय स्वास्थ्य स्वयंसेविकाले समुदायको एउटा तितो सत्य सार्वजनिक गरिन्। कलेज पढ्ने सन्तान भइसकेका र ४० वर्ष नाघेका महिलाहरूले समेत श्रीमानको शंकालु व्यवहारका कारण विगत ५-६ वर्षदेखि लुकेर अस्थायी गर्भनिरोधक साधन प्रयोग गरिरहेको उनले बताइन्। त्यसैगरी, थाक्रेमा गएको वर्ष मात्र ६० जनाले गर्भपतन (Abortion) गराएको र त्यसमध्ये करिब ६० प्रतिशत प्रभावित अविवाहित किशोरी तथा महिला रहेको गम्भीर तथ्याङ्क बैठकमा प्रस्तुत गरियो। यसले समुदायमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी व्यापक सचेतनाको टड्कारो आवश्यकता रहेको पुष्टि गरेको छ।
वैदेशिक रोजगारी र बालबालिकामाथिको मनोवैज्ञानिक असर
सुरक्षित आप्रवासन (SAMI) शाखाकी प्रतिनिधिका अनुसार वैदेशिक रोजगारीका कारण पनि परिवारहरूमा नयाँ प्रकृतिका मानसिक हिंसा थपिएका छन्। विदेशबाट श्रीमानले पठाएको रकमको हिसाब श्रीमतीले पारदर्शी रूपमा राख्न नसक्दा उताबाट मानसिक यातना दिने र पैसा पठाउन छाड्ने समस्या बढेको उनले जानकारी दिइन्। यद्यपि सामी शाखाले सञ्चालन गरेको वित्तीय साक्षरता कक्षाले यस्ता धेरै हिसाबकिताब सम्बन्धी असमझदारी हल गर्न सफल भएको उनको भनाइ छ।
यसैबीच, अभिभावकहरूबीचको निरन्तर झगडा र कुटपिटले बालबालिकाहरूमा गम्भीर मनोवैज्ञानिक असर पारेको बैठकका सहभागीहरुले बताएका छन्। कतिपय बालबालिका पारिवारिक अशान्ति सहन नसकी घर छोडेर छिमेकी वा अन्य सुरक्षित स्थानमा शरण लिन पुगेको समेत बैठकमा जानकारी दिइयो।
आगामी तीजमा गीत प्रतियोगिता मार्फत जनचेतना अभियान
थाक्रे गाउँपालिकाको महिला शाखाले स्थानीय संघसंस्थाहरूसँगको समन्वयमा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। यसै सन्दर्भमा आगामी हरितालिका तीजको अवसर पारेर महिलाका वास्तविक पीडा र लैङ्गिक हिंसाका सवाल उजागर गर्ने गरी निश्चित शीर्षक तोकेर “तीज गीत प्रतियोगिता” आयोजना गर्ने निर्णय बैठकले गरेको छ। सरोकारवालाहरूका अनुसार यस सांगीतिक प्रतियोगिताले समुदायका कुना-कुनामा दबिएर रहेको हिंसा विरुद्धको आवाजलाई लोकतान्त्रिक र रचनात्मक ढंगले बाहिर ल्याउन मद्दत पुर्‍याउने विश्वास लिइएको छ।
थाक्रे गाउँपालिकामा भएको यस बैठकले लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्वास्थ्य, न्यायिक र सामाजिक क्षेत्रबीचको प्रेषण प्रणाली थप सुदृढ हुँदै गएको देखाउनुका साथै समाजमा गहिरो गरी जरा गाडेको इज्जत र आर्थिक परनिर्भरताको मानसिकता परिवर्तन गर्न अझै लामो बाटो बाँकी रहेको समेत संकेत गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस