१४३
Shares
काठमाडौं : देशका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।



विभागका अनुसार दिउँसो कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। देशभर सामान्यतया बदली रहने र विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
राति पनि कोसी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा रहेकाले आगामी समयमा पनि वर्षाको गतिविधि जारी रहने विभागले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा समस्या आउनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।






