






२१
Shares
काठमाडौं : मिकेल मेरिनोको इन्जुरी समयमा आएको सनसनीपूर्ण गोलको मद्दतमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।



डलास रंगशालामा गएराति सम्पन्न रोमाञ्चक प्रिक्वार्टरफाइनलमा स्पेनले छिमेकी प्रतिद्वन्द्वी पोर्चुगललाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो। प्रशिक्षक लुइस डे ला फुएन्टेको टोलीले अब लस एन्जलसमा हुने क्वार्टरफाइनलमा अमेरिका र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
खेलको पहिलो हाफमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि गोल गर्न सकेनन्। स्पेनका मिकेल ओयार्जाबालले डानी ओल्मोको उत्कृष्ट पासमा प्राप्त वान-अन-वान अवसरलाई सदुपयोग गर्न सकेनन्। त्यस्तै, एलेक्स बाएनाको आकर्षक कर्लिङ प्रहारलाई पोर्चुगलका गोलकिपर डिओगो कोस्टाले उत्कृष्ट बचाउ गर्दै गोल हुनबाट रोके।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि लगातार दबाब सिर्जना गरेका थिए। नुनो मेन्डेसको शक्तिशाली प्रहार डिफ्लेक्ट हुँदै क्रसबारमा लागेपछि पोर्चुगल अग्रता लिनबाट वञ्चित भयो। त्यसपछि पहिलो हाफ गोलरहित बराबरीमा सकियो।
दोस्रो हाफमा दुवै टोलीले सतर्क खेल प्रदर्शन गरे। खेल अतिरिक्त समयमा पुग्ने लगभग निश्चित देखिएको अवस्थामा ९०+१औँ मिनेटमा स्पेनका दुई सब्स्टिच्युट खेलाडीले निर्णायक क्षण सिर्जना गरे। फेरान टोरेसको सटिक पासमा मिकेल मेरिनोले शक्तिशाली प्रहार गर्दै बललाई जाली चुमाए र स्पेनलाई १–० को नाटकीय जित दिलाए।
यस हारसँगै विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि समाप्त भएको छ। ४१ वर्षीय रोनाल्डोले प्रतियोगिता सुरु हुनुअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए।
रोनाल्डोले विश्वकपमा कुल २७ खेल खेल्दै ११ गोल गरेका छन्। उनी लगातार ६ वटा विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो पुरुष फुटबलरका रूपमा इतिहासमा दर्ज छन्।






