
२६
Shares
काठमाडौं: प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशी आज देशभर धार्मिक श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ।
चार महिनाअघि आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास रहेको छ। त्यसैले यस दिनलाई हरिबोधिनी एकादशी भनिन्छ।



हरिबोधिनी एकादशीका अवसरमा तुलसीको विशेष पूजा गरी भगवान् विष्णुको प्रतीक शालिग्रामसँग तुलसी विवाह गराउने परम्परा छ। यस दिन तुलसीको मठलाई सजाएर पूजा गर्ने, भजनकीर्तन गर्ने तथा व्रत बस्ने चलन रहेको छ।
आज देशभरका विष्णु मन्दिर तथा धार्मिक स्थलहरूमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। विशेषगरी काठमाडौंको बुढानीलकण्ठ, चाँगुनारायणलगायत धार्मिक स्थलमा श्रद्धालुहरू पूजा–आराधनाका लागि पुग्ने गर्दछन्।
धार्मिक मान्यताअनुसार हरिबोधिनी एकादशीको व्रत तथा तुलसी पूजा गर्नाले पुण्य प्राप्त हुने र सुख, शान्ति एवं समृद्धि मिल्ने विश्वास गरिन्छ।




