










१८७
Shares
काठमाडौँ: केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ।



पार्टी अध्यक्ष ओली हाल हिन्दु परम्पराअनुसार आफ्ना बुवाको काजकिरिया गरिरहनुभएको छ। किरियापुत्रीले टाउकोमा झुप्पो राख्ने चलनअनुसार उहाँले कपाल खौरेर टाउकोमा झुप्पो राख्नुभएको छ र शुद्ध सेतो कपडा लगाएर किरियामा बसिरहनुभएको छ। हिन्दु संस्कारअनुसार आमाबुबाको निधनपछि छोराले कपाल काटेर सेतो वस्त्र धारण गर्ने परम्परा छ, जसलाई शोक, सम्मान र धार्मिक कर्तव्यको प्रतीकका रूपमा लिइन्छ।
अध्यक्ष ओली हाल भक्तपुरको गुण्डुस्थित निवासमा किरियामा बसिरहनुभएको छ। किरियामा बसेकै अवस्थामा पनि उहाँले पार्टीका कामलाई निरन्तरता दिनुभएको छ। सोही निवासमा बसेको सचिवालय बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरेको छ। साथै बैठकले समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउने निर्णयसमेत गरेको हो।
शनिबार दिउँसो गुण्डुस्थित ओली निवासमा बसेको सचिवालय बैठकले १६ जनाको नाम निर्वाचन आयोग मा सिफारिस गर्ने निर्णय गरेको एमालेले जनाएको छ।
समानुपातिकतर्फ सिफारिस गरिएका १६ सांसदहरू यसप्रकार छन्:
जनजाति (४ जना)
महिला: भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ
पुरुष: रामबहादुर थापा मगर, कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला: पद्मा अर्याल, टुकाभद्रा हमाल, यशोदाकुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष: गुरु प्रसाद बराल, पुष्पराज कंडेल
थारु (१ जना)
कृपाराम राना (पुरुष)
दलित (२ जना)
महिला: विष्णुमाया विके, नीता घतानी
मधेशी (३ जना)
महिला: रिङ्ला यादव, यशोधाकुमारी यादव
पुरुष: चन्द्रेश्वर मण्डल
मुस्लिम (१ जना)
महिला: साजिदा सिद्दीकी
एमालेले समानुपातिक समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायबाट प्रतिनिधित्व हुने गरी नाम सिफारिस गरिएको जनाएको छ।






