२०२
Shares
धादिङको गल्छी गाउँपालिका वडा नं ७ स्थित भल्टारमा सञ्चालित होटलहरुमा शनिबार अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा जिल्ला अनुगमन समिति धादिङले उपभोक्ता हित विपरीत सञ्चालनमा रहेका ३ वटा होटलहरुलाई नगद जरिवाना सहित कारबाही गरेको छ । यसअघिको अनुगमनका समयमा दिएको सुझाव नमानेको भन्दै समितिले कारबाही स्वरुप जरिबाना तिराएको हो ।
समितिले गल्छी–७ भल्टारको जुनतारा रेष्टुरेण्ट एण्ड लजलाई १५ हजार,न्यू लुम्बिनी होटललाई १५ हजार र सोही ठाउँको दर्ता नभएको एक होटललाई २० हजार जरिवाना तिराइएको घरेलु कार्यालय धादिङले जनाएको छ ।
अनुगमनको क्रममा २६ हजार ६ सय रुपैयाँ बराबरको म्याद गुज्रेका/सडेगलेका प्रयोग गर्न अयोग्य सामाग्रीहरु नष्ट गरेको छ । कारबाहीमा परेका फर्महरुले बजार अनुगमन टोलीले पटक पटक दिएको सुझाव र निर्देशन पालना नगरेको, होटलका भान्सा सफा नरहेको, म्याद नाघेका सामानहरु बिक्री गर्न राखिएको, निर्धारित मुल्यभन्दा बढी रकम लिएको र दर्ता नगरी सञ्चालनमा गरेको पाइएकोले जरिवाना तिराईएको घरेलु कार्यालय धादिङले जनाएको छ । जिल्ला अनुगमन टोलीले उपभोक्तालाई सचेत बन्न र गुनासो गर्ने बानी बसाल्न आग्रह गरेको छ ।