

२४
Shares
काठमाडौँ : देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।



आज दिउँसो कोशी प्रदेशका सबै भूभागका साथै देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ भने तराईका भूभागमा आंशिक बादल लाग्नेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। यस्तै, कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।






