२९
Shares
काठमाडौँ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।



यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ।
देशका तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ।






