FLASH NEWS

थाक्रेका १६० विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ ४, बिहिबार (३ घण्टा अघि)
  • ७६

    Shares

थाक्रेका १६० विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

धादिङ:थाक्रे गाउँपालिकाभित्र अध्ययनरत विपन्न, दलित तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक पहुँच अभिवृद्धि गर्ने उद्देश्यले १६० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ।

एकीकृत सामुदायिक विकास अभियान (ICDC) नेपाल ले एक्सनएड नेपाल सँगको साझेदारी तथा थाक्रे गाउँपालिका सँगको समन्वय र सहकार्यमा सन् २०२२ देखि सञ्चालन गर्दै आएको बाल प्रायोजन कार्यक्रम अन्तर्गत स्थानीय अधिकार कार्यक्रम (LRP–43) मार्फत उक्त सहयोग प्रदान गरेको हो।

कार्यक्रमअन्तर्गत थाक्रे गाउँपालिकाका २७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न, दलित तथा जेहेन्दार १६० जना विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको छ। आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीहरूको शैक्षिक यात्रामा सकारात्मक सहयोग पुग्ने विश्वास गरिएको छ।

संस्थाका अनुसार यस्ता सहयोगले विद्यार्थीहरूको विद्यालयप्रतिको आकर्षण बढाउनुका साथै नियमित उपस्थितिमा सुधार ल्याउने, सिकाइप्रतिको रुचि वृद्धि गर्ने तथा अध्ययनमा थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ। शैक्षिक सामग्री र पोशाकको अभावका कारण विद्यालय जान कठिनाइ भोग्ने विद्यार्थीहरूलाई यस कार्यक्रमले राहत पुगेको बताइएको छ।

त्यसैगरी विद्यालयमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै थाक्रे गाउँपालिकाभित्रका २० वटा आधारभूत विद्यालयलाई सामान्य औषधिसहितको प्राथमिक उपचार (फर्स्ट एड) बक्स समेत वितरण गरिएको छ। विद्यालयमा हुने सामान्य चोटपटक तथा आकस्मिक स्वास्थ्य समस्याको तत्काल व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको जनाइएको छ।

स्थानीय समुदाय, विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढाउनुका साथै गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्। उनीहरूले शैक्षिक तथा स्वास्थ्यसम्बन्धी सहयोगले विद्यालय वातावरणलाई थप सुरक्षित, आकर्षक र बालमैत्री बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

ICDC नेपालले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण तथा समग्र विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले आगामी दिनमा पनि स्थानीय सरकार तथा सरोकारवालासँग सहकार्य गर्दै बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस