
२६
Shares
थाक्रे: धादिङको थाक्रे गाउँपालिका–९ पण्डितपौवास्थित ज्योति माध्यमिक विद्यालयमा वार्षिक अभिभावक भेला–२०८२ सम्पन्न भएको छ।



भेलाका अवसरमा बालकक्षादेखि कक्षा १२ सम्मको वार्षिक परीक्षामा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै, एसईई र कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गराउन सफल विषयगत शिक्षकहरूलाई कदरपत्रसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयमा विभिन्न व्यक्तिको नाममा स्थापना गरिएका अक्षयकोषमार्फत जेहेन्दार विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको थियो। त्यस्तै, आईसीडीसी नेपालको सहयोगमा सात जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
वडा नं. ९ का अध्यक्ष श्यामचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा थाक्रे गाउँपालिका–१० का वडा अध्यक्ष गोकुल लामिछाने, वडा सदस्यहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्ने अतिथिहरूले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, शैक्षिक सुधार तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। उनीहरूले सम्मानित विद्यार्थी तथा शिक्षकहरूलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए।






