FLASH NEWS

पृथ्वी राजमार्गमा शुद्ध शाकाहारी भोजनको नयाँ गन्तव्य : अमृतम्

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ २, शनिबार (६ घण्टा अघि)
  • ४४

    Shares

पृथ्वी राजमार्गमा शुद्ध शाकाहारी भोजनको नयाँ गन्तव्य : अमृतम्

थाक्रे: धादिङको थाक्रे ७ जुगेखोलामा शुद्ध शाकाहारी भोजन सेवा प्रदान गर्ने उद्देश्यसहित अमृतम Pure Veg Restaurant सञ्चालनमा आएको छ । पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा शाकाहारी भोजन पारखीलाई लक्षित गर्दै स्थापना गरिएको रेस्टुरेन्टको बिहीबार विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
काठमाडौँबाट करिब ३० किलोमिटर पश्चिममा रहेको जुगेखोला राजधानी प्रवेशको महत्वपूर्ण नाका मानिन्छ । पछिल्ला वर्षहरूमा शाकाहारी तथा सात्विक भोजनप्रति मानिसहरूको आकर्षण बढ्दै गए पनि राजमार्ग क्षेत्रमा स्तरीय र विश्वासिलो शाकाहारी भोजनालयको अभाव रहेको भन्दै सो आवश्यकता पूरा गर्न रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक देवेन्द्र रुपाखेतीले जानकारी दिनुभयो ।
विशेषगरी पशुपतिनाथ दर्शनका लागि आउने तीर्थयात्री, व्रत तथा धार्मिक कार्यमा संलग्न व्यक्तिहरूले यात्रा क्रममा शुद्ध भोजन नपाएर समस्या भोग्दै आएको अवस्थालाई ध्यानमा राख्दै अर्ग्यानिक र सात्विक खानाको व्यवस्था गरिएको उहाँको भनाइ छ ।
रेस्टुरेन्ट उद्घाटन कार्यक्रममा रमेश गुरुदेब सहित स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षाविद् तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा गुरुदेवले सात्विक भोजनले मानिसको स्वास्थ्य, सोच र जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विषयमा चर्चा गर्नुभएको थियो ।
रेस्टुरेन्टमा शुद्ध शाकाहारी खाना, विभिन्न परिकारका खाजा, ताजा दूध, कफी, मोही तथा लस्सी जस्ता पेय पदार्थ उपलब्ध गराइएको छ । व्यापारिक उद्देश्यभन्दा पनि स्वास्थ्य र सेवामुखी सोचलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको सञ्चालक पक्षले जनाएको छ ।
राजमार्ग क्षेत्रमा सञ्चालनमा आएको यस रेस्टुरेन्टले स्थानीय उत्पादनको उपयोग बढाउनुका साथै रोजगारी सिर्जनामा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । शुद्ध, सफा र सात्विक भोजन खोज्ने यात्रुका लागि जुगेखोलाको यो रेस्टुरेन्ट नयाँ गन्तव्य बन्ने विश्वास गरिएको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस