FLASH NEWS

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८३ बैशाख २८, सोमबार (२ दिन अघि)
  • ६६

    Shares

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं : सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ।

आज नै सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले बताएका छन्।

नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

उक्त धारामा प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।

राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा सहभागी हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले १५ मिनेटअघि नै उपस्थित हुन अनुरोध गरेको छ। त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्नेछ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी गराइने, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराइने सम्भावित कार्यसूची रहेको छ।

त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गर्ने तथा प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेस गर्ने कार्यसूची रहेको छ।

यसैगरी, सरकारले जारी गरेका आठ अध्यादेश पनि प्रतिनिधिसभामा पेस गरिने संसद् सचिवालयले जनाएको छ।

राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरू पेस हुनेछन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

४ दिन अघि

आज कानुन दिवस

खोजी गर्नुहोस