काठमाडौँ : स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ बराबरको उपचार सुविधा नघटाइएको स्पष्ट पारेको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बीमा गरेबापत प्रदान गरिने वार्षिक एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत् राखिएको छ।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत तीन हजार ५०० रुपैयाँ योगदान गरेबापत पाँच सदस्यसम्मको परिवारले वार्षिक कुल एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा पाउने व्यवस्था छ। उक्त रकममध्ये २५ हजार रुपैयाँ बहिरङ्ग (ओपिडी) सेवाका लागि र ७५ हजार रुपैयाँ अस्पताल भर्ना तथा आकस्मिक सेवाका लागि छुट्याइएको छ।
पाँच जनाभन्दा बढी सदस्य भएका परिवारका हकमा प्रतिसदस्य सात सय रुपैयाँका दरले योगदान रकम थपिँदै जानेछ भने प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवासुविधा पनि थपिने प्रावधान रहेको छ।
बोर्डले अनावश्यक ओपिडी सेवा प्रयोग र दोहोरो उपचार रोक्न तथा गम्भीर, जटिल र ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्न सेवाको रकम छुट्याइएको जनाएको छ। सूचना अधिकारी मल्लका अनुसार पाँच सदस्यीय परिवारले वर्षभरिमा बढीमा २५ हजार रुपैयाँसम्मको ओपिडी सेवा लिन पाउने व्यवस्था छ। पाँच जनाभन्दा बढी सदस्य भएका परिवारमा प्रतिसदस्य थप पाँच हजार रुपैयाँ बराबरको ओपिडी सेवा उपलब्ध हुनेछ।
हाल स्वास्थ्य बिमाको कुल बजेटको ७० प्रतिशतभन्दा बढी हिस्सा सामान्य बिरामीको ओपिडी सेवामै खर्च भइरहेको छ। यसका कारण परिवारका सदस्यलाई गम्भीर रोग लाग्दा वा महँगो शल्यक्रिया आवश्यक पर्दा बिमाको रकम अपर्याप्त हुने र बिरामीले आफ्नै खर्चमा ठूलो रकम व्यहोर्नुपर्ने अवस्था सिर्जना भइरहेको जानकारहरू बताउँछन्।
सूचना अधिकारी मल्लले वास्तविक बिरामीको उपचारमा बिमाको रकम प्रभावकारी रूपमा खर्च गर्ने उद्देश्यले ओपिडी, अस्पताल भर्ना तथा शल्यक्रियाजस्ता शीर्षक छुट्याइएको उल्लेख गर्दै तोकिएको व्यवस्था अनुसार सेवा उपयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ।


















































