






१७
Shares
काठमाडौं: देशभर मनसुनको प्रभाव बढ्दै गएको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।



महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेको छ भने पूर्वमा औसत स्थानकै आसपास रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली, पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको छ। त्यस्तै, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
रातिको समयमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। साथै, मधेस र बागमती प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी कटानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।






