FLASH NEWS

आतङ्क मच्चाउँदै आएको ‘ध्रुवे’ हात्तीलाई डार्ट गरी स्याटेलाइट कलर जडान

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ ३२, बिहिबार (४ घण्टा अघि)
  • २९

    Shares

आतङ्क मच्चाउँदै आएको ‘ध्रुवे’ हात्तीलाई डार्ट गरी स्याटेलाइट कलर जडान

चितवन : चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा लामो समयदेखि आतङ्क मच्चाउँदै आएको जङ्गली हात्ती ‘ध्रुवे’लाई डार्ट गरी बेहोस बनाएपछि दाह्रा काटेर स्याटेलाइट कलर जडान गरिएको छ।

निकुञ्ज प्रशासन र सुरक्षा निकायको संयुक्त टोलीले बुधबार राति ध्रुवेलाई नियन्त्रणमा लिएर घाँटीमा स्याटेलाइट प्रविधिमा आधारित कलर जडान गरेको हो।

गत असार २० गते राति भरतपुर महानगरपालिका–२३ बेलहट्टाकी २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ध्रुवे हात्तीको आक्रमणबाट मृत्यु भएको थियो। उक्त घटनासहित ध्रुवेले अहिलेसम्म २५ जनाको ज्यान लिइसकेको निकुञ्जले जनाएको छ।

घटनापछि थप मानवीय तथा भौतिक क्षति हुन नदिन चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, नयाँ गोरख गण, मध्यवर्ती उपभोक्ता समिति तथा स्थानीय सरोकारवालाको समन्वयमा हात्तीको निरन्तर खोजी र निगरानी भइरहेको थियो।

सोही क्रममा बुधबार राति करिब १०:३० बजे निकुञ्जभित्रको सुखीभार पोस्ट नजिक हात्ती फेला परेको थियो। त्यसपछि प्राविधिक टोलीले डार्ट गरी बेहोस बनाएर नियन्त्रणमा लिएको थियो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीको घाँटीमा स्याटेलाइट कलर जडान गरिएको छ भने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै दाह्रा पनि काटिएको छ। आवश्यक प्रक्रिया पूरा भएपछि हात्तीलाई पुनः निकुञ्जभित्रकै प्राकृतिक बासस्थानमा छाडिएको उनले जानकारी दिए।

थापा मगरका अनुसार स्याटेलाइट कलर जडान भएपछि अब हात्तीको अवस्थिति वास्तविक समयमा निगरानी गर्न सकिनेछ। यसले हात्तीको गतिविधि नियमित रूपमा अनुगमन गर्न सहज हुनुका साथै मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस