FLASH NEWS

उद्योग तथा वाणिज्य कार्यालय अब ‘उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय’ मा परिणत, धादिङमा पनि नयाँ बोर्ड राखी संचालनमा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ श्रावण २, शनिबार (२ घण्टा अघि)
  • १५

    Shares

उद्योग तथा वाणिज्य कार्यालय अब ‘उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय’ मा परिणत, धादिङमा पनि नयाँ बोर्ड राखी संचालनमा

धादिङ: बागमती प्रदेश सरकारले सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी तथा सेवाग्राहीमैत्री बनाउन साविकका ‘उद्योग तथा वाणिज्य कार्यालय’लाई रूपान्तरण गरी ‘उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय’का रूपमा सञ्चालनमा ल्याएको छ।

प्रदेश सरकारको नीतिअनुसार साउन १ गतेदेखि लागू हुने गरी कार्यालयको नाम, संरचना र कार्यक्षेत्र विस्तार गरिएको हो। सोही व्यवस्थाअनुसार धादिङसहित प्रदेशका विभिन्न जिल्लामा शुक्रबार नयाँ नामका बोर्ड राखेर औपचारिक रूपमा सेवा विस्तार सुरु गरिएको छ।

साविक उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणि पुरीका अनुसार कार्यालयको नाम परिवर्तनसँगै सेवा प्रवाहको दायरा पनि विस्तार भएको छ। यसअघि उद्योग तथा वाणिज्य कार्यालय बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालन हुँदै आएको थियो।

नयाँ व्यवस्थाअनुसार उद्योग दर्ता, वाणिज्य व्यवस्थापन, पर्यटन तथा यातायातसम्बन्धी सेवा अब एउटै कार्यालयबाट उपलब्ध गराइनेछ। यसअघि यी सेवाहरू विभिन्न निकायबाट छुट्टाछुट्टै प्रदान हुँदै आएका थिए।

प्रदेश सरकारले नयाँ प्रशासनिक संरचनामार्फत सेवा प्रवाहलाई थप प्रभावकारी, प्रविधिमैत्री र डिजिटल बनाउने लक्ष्य लिएको छ। कार्यालयले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका साथै पर्यटन र यातायातसम्बन्धी जिम्मेवारी रहेका अन्य मन्त्रालयसँग समन्वय गरेर सेवा प्रदान गर्नेछ।

प्रदेश सरकारका अनुसार एउटै कार्यालयबाट बहुआयामिक सेवा उपलब्ध भएपछि सेवाग्राहीले सहज, छिटोछरितो र प्रभावकारी सेवा प्राप्त गर्नेछन्। यसबाट प्रशासनिक झन्झट घट्नुका साथै सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस