



















 
	
      
२८७
Shares 
  
   
 
धादिङको धुनिवेशी नगरपालिका–७, नौविसे बजारमा नेपाली कांग्रेस धादिङका पूर्व सभापति स्वर्गीय भरत प्रसाद उप्रेतीको १३औं दिनको पुण्यतिथिमा बिहीबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।



कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. उप्रेतीले धादिङ र नेपाली जनताका लागि पुर्याएको योगदानको उच्च सम्मान गर्दै उहाँको मार्गदर्शन प्रेरणादायी रहेको बताउनु भयो।
त्यस अवसरमा देउवाले नेपालको हालको निर्वाचन प्रणालीका कारण कुनै पनि राजनीतिक दलले एकल बहुमत ल्याउन सक्ने सम्भावना न्यून रहेको धारणा राख्नु भयो “संविधानमा समावेशी र समानुपातिक प्रणाली लागू भएकोले सबै जातजातिको प्रतिनिधित्व सुनिश्चित भएको छ,” उहाले भन्नु भयो , “यस्तो प्रणालीमा एकल बहुमत ल्याउन गाह्रो हुन्छ। त्यसैले गुट–उपगुट अन्त्य गरेर पार्टी एकता कायम गर्न जरुरी छ।” उहाँले पार्टी कार्यकर्तालाई एकताको थालनी धादिङबाटै गर्न समेत सुझाव दिनुभयो ।
श्रद्धाञ्जली सभामा कांग्रेसका उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, शशांक कोइराला, धादिङ कांग्रेस सभापति तथा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, बागमती प्रदेश सरकारका मन्त्री मधुकुमार श्रेष्ठ, पूर्व सभापति दिलमान पाखरीन, नेता रमेश धमलालगायतले पनि सम्बोधन गरेका थिए। सबैले स्व. उप्रेतीका संघर्ष, योगदान र सरल व्यक्तित्वको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो।
वि.सं. १९८५ सालमा धादिङको नौविसेमा जन्मिएका नेता उप्रेतीको २०८२ असार २८ गते ९७ वर्षको उमेरमा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो। 
  
  
  
  
 








