१७४
Sharesनिर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई चुनाव प्रयोजनका लागि सम्पर्क कार्यालय खोल्नेबारे सात बुँदे निर्देशन दिएको छ ।
निर्देशनअनुसार प्रतिनिधि सभा निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेटिने गरी बढीमा तीन वटा सम्पर्क कार्यालय खोल्न पाउँछन् । यस्तै प्रदेश सभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रदेश सभा सदस्य पदको उम्मेदवारले एउटामात्रै सम्पर्क कार्यालय खोल्न सक्नेछन् ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यतर्फ उम्मेदवारी दिइ चुनाव चिह्न प्राप्त गरी सकेपछि त्यस्ता उम्मेदवारले अरू कुनै उम्मेदवारलाई समर्थन गरेको भएमा त्यस्ता उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्न नपाउने र प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य चुनावका लागि घर भाडामा लिइ सम्पर्क कार्यालय स्थापना गरेको भएमा त्यस्तो घरको घर भाडा उम्मेदवारको चुनाव खर्चमा समावेश गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख छ ।
राजनीतिक दल वा उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउन लगायतका विषय निर्देशनमा उल्लेख गरिएको छ ।