FLASH NEWS

धादिङमा बढ्यो डेंगु संक्रमितको संख्या ११४ पुग्यो

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ भाद्र १६, बिहिबार (३ साल अघि)
  • २७७

    Shares

धादिङमा बढ्यो डेंगु संक्रमितको संख्या ११४ पुग्यो

धादिङ सहितमुलुकका विभिन्न भागमा डेंगु संक्रमण बढेको छ । धादिङमा पनि डेंगु संक्रमित बिरामीको संख्या ह्वात्तै बढेको छ ।

जिल्लामा अहिलेसम्म ११४ जना डेंगु संक्रमित बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको साउन महिनामा ६२ जना र भदौको १४ गतेसम्म ५२ जना गरी ११४ जनामा डेँगु देखिएको धादिङ अस्पतालका सुचना अधिकारी विक्रम विकले बताउनुभयो ।

टाउको दुःख्ने, ज्वरो आउने जस्ता समस्या भएर चेकजाँचका लागि अस्पताल आएका अधिकाशं विरामीहरुमा डेंगुको संक्रमण भेटिएको सुचना अधिकारी विकको भनाई छ ।

संक्रमण बढ्दै गएपछि धादिङबासी त्रसित बनेका छन् । स्वास्थ्य संस्थाले न्यूनिकरण तथा उपचारमा केन्द्रित गरिरहेको भएपनि नागरिक आफै सचेत हुनुपर्ने विकले बताउनुभयो ।

धादिङ अस्पतालमा डेँगु विरामीको उपचार गर्न किट पर्याप्त रहेको धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.मधुकर दाहालले बताउनुभयो। अस्पतालमा आएका सबै विरामीलाई परिक्षण गरेर उपचार गर्न सक्ने अवस्थामा भन्दैै डा.दाहालले सिकिस्त विरामीलाई आइसियूमा राखेर उपचार गर्न धादिङ अस्पताल सक्षम रहेको बताउनुभएको छ ।

लामखुट्टेको वृद्धिका लागि उपयुक्त मौसम भएका कारण पनि डेंगुको संक्रमण तीव्र रुपमा फैलिएको चिकित्सकहरुले बताएका छन् । डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो ।

उदाउने र डुब्ने समयमा यो लामखुट्टेले मानिसलाई टोक्ने गर्दछ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका शुरुवाती लक्षणहरु हुन् ।

डेंगुबाट कसरी बच्ने ?
डेंगुबाट बच्ने मुख्य उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो । तसर्थ लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाय अपनाउन जरुरी हुन्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरमा पानी जम्न दिनुहुँदैन ।  पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।

 

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस