FLASH NEWS


आजबाट यमपञ्चक सुरु, आज धनतेरस

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ कार्तिक १३, मंगलबार (३ दिन अघि)
  • ६६

    Shares

आजबाट यमपञ्चक सुरु, आज धनतेरस

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।

बिहान ११:०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो ।बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ ।

“सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उहाँले भन्नुभयो । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनवन्तरी जयन्ती पनि कात्तिक १४ गते बुधबार परेको समितिका अध्यक्ष प्रा अधिकारीले जानकारी दिनुभयो । तिथिको घटबढका कारण बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक १५ गते बिहीबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ । कात्तिक १५ गते दिउँसो १५:१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको समितिका अध्यक्ष प्रा अधिकारीले उल्लेख गर्नुभयो । उहाँका अनुसार रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि छ ।

यस वर्ष कात्तिक १६ गते शुक्रबार औँसी तिथि बेलुकी १७:१५ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन ।

गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक पनि यसैदिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४५ पनि यसै दिनदेखि सुरु हुन्छ ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस