८७
Shares३० असार , २०८१: आज देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४५औँ प्रधानमन्त्री नियुक्त गर्दै हुनुहुन्छ ।
उहाँले नयाँ सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउनुहुने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज असार ३० अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गर्नुभएको थियो ।
सो आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आज साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नुहुनेछ । त्यस्तै आज समय ढिला हुने भएकाले भोलि बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने बताइएको छ।