
३०३
Shares
१० साउन,२०८० । देशभरमा डेंगुका बिरामी चार हजार भन्दा बढी रहेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताउनु भएको छ ।
मरासिनीका अनुसार चार हजार २सय ८९ जनामा डेंगुका बिरामी छन् । महाशाखाका अनुसार असार ३० गते दुई हजार ९सय ३० जनामा डेंगु सङ्क्रमण भएको थियो । बागमती प्रदेशमा सात सय ७६, कोशी प्रदेशमा दुई हजार ७५४, गण्डकी प्रदेशमा ३४४, सुदूरपश्चिम प्रदेशमा ३१६, लुम्बिनी प्रदेशमा १६६, मधेश प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा २० जनामा डेंगुका बिरामी रहेका छन्।
डेंगु सङ्क्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन् । ती १० जिल्लामा मात्र तीन हजार ६७१ बिरामी रहेका छन् । धादिङ ४०१, काठमाडौं ८०, सुनसरी दुई हजार ५४२, कास्की २०५, दार्चुला १९०, सङ्खुवासभा ६४, म्याग्दी ५४, कञ्चनपुर ५२, रुपन्देही ४५ र मोरङ ३८ बिरामी परेका छन् ।
डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्छ।
महाशाखाले डेंगु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ। डेंगु बाट जोगिन पूरा बाहुला भएका लुगा लगाउन, झुल भित्र मात्र सुत्न, झ्यालढोकामा जाली राख्न, घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन, करेसाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।











