४०
Shares
काठमाडौं : हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको छ।



महाशाखाका अनुसार अहिले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ। मधेस प्रदेश तथा गण्डकी र लुम्बिनीका तराई भू–भागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र लुम्बिनीका केही स्थान, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
आज राति हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली र तराई भू–भागमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका केही स्थान तथा मधेससहित कोशी र बागमतीका तराई भू–भागका एक–दुई स्थानमा समेत मध्यम वर्षा हुनसक्नेछ।
राति बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले महाशाखाबाट जारी हुने पछिल्ला सूचना तथा मौसम पूर्वानुमानअनुसार अद्यावधिक रहन अनुरोध गरिएको छ।






