३८
Shares
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यतया बादल लागेको छ। बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।



आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रमा वर्षा तथा हिमपात र पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी क्षेत्र र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति पनि देशभर बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र तथा बागमतीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवन, कृषि, पर्यटन तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ।






