२१
Shares
काठमाडौं : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थानको आसपास तथा पश्चिमी भू–भागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ।



हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी र मधेश प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहने सम्भावना छ।
देशका हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति देशका हिमाली र पहाडी भू–भाग तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।
हिमाली भू–भागका थोरै तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान, कोशी र सुदूरपश्चिम प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।






