२८
Shares
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।



जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। अहिले कोशी प्रदेशको तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, वाग्मती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै, वाग्मती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
यसका साथै, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाका कारण ती क्षेत्रमा गेग्रान बहने, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र विभागबाट जारी हुने पछिल्ला मौसमसम्बन्धी सूचनाबारे नियमित रूपमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।






