८२
Shares
धादिङ: धुनिबेसी नगरपालिका–८ अन्तर्गत रहेको रक्तकाली सामुदायिक वन उपभोक्ता समितिको सक्रियतामा वन क्षेत्रलाई हराभरा बनाउने उद्देश्यले एक हजार बिरुवा वृक्षारोपण कार्यक्रम गर्ने तयारी गरिएको छ।



वृक्षारोपणका लागि आवश्यक लप्सी, चिउरी, कटर लगायतका बिरुवाहरू डिभिजन वन कार्यालय, धादिङबाट उपलब्ध गराइएको समितिले जनाएको छ।
कार्यक्रमको पूर्वतयारीस्वरूप वर्षौंदेखि वन क्षेत्रमा फैलिएका झाडीहरू हटाउने काम पनि सम्पन्न गरिएको छ। स्थानीय बासिन्दाको सहभागितामा मेसिन प्रयोग गरी घना झाडी पन्छाइएको हो, जसले वृक्षारोपण कार्यलाई सहज बनाउने अपेक्षा गरिएको छ।
रक्तकाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ओम रेग्मीका अनुसार आवश्यक तयारी पूरा भएपछि केही समयभित्रै वृक्षारोपण कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहने र रोपिएका बिरुवाको संरक्षणमा समेत विशेष ध्यान दिइने उहाँले जानकारी दिनुभयो।
वन संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले सञ्चालन हुन लागेको यो अभियानले स्थानीय क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।






