FLASH NEWS

स्पेनको सशक्त प्रदर्शन, फ्रान्सलाई पाखा लगाउँदै फाइनल यात्रा

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०८३ अषाढ ३१, बुधबार (३ घण्टा अघि)
  • ४०

    Shares

स्पेनको सशक्त प्रदर्शन, फ्रान्सलाई पाखा लगाउँदै फाइनल यात्रा

काठमाडौं :  उत्कृष्ट लयमा रहेको स्पेनले पूर्व विश्वविजेता फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ।

डलास स्टेडियममा भएको रोमाञ्चक सेमिफाइनलमा स्पेनको जितमा मिकेल ओयार्जाबल र पेड्रो पोरोले एक–एक गोल गरे।

खेलको सुरुआतदेखि नै आक्रामक देखिएको स्पेनले २२औँ मिनेटमा अग्रता बनायो। आफ्नो १९औँ जन्मदिन मनाएको भोलिपल्ट मैदान उत्रिएका युवा विङ्गर लामिन यामललाई फ्रान्सका लुकास डिग्नेले पेनाल्टी क्षेत्रभित्र लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो।

उक्त अवसरलाई मिकेल ओयार्जाबलले सफलतापूर्वक गोलमा परिणत गर्दै फ्रान्सेली गोलरक्षक माइक मेइग्ननलाई बिट गरे। यससँगै ओयार्जाबल स्पेनका लागि ३० अन्तर्राष्ट्रिय गोल पूरा गर्ने छैटौँ खेलाडी बने।

पहिलो हाफमा १–० को अग्रता बनाएको स्पेनले दोस्रो हाफमा पनि दबाब कायम राख्यो। खेलको ५८औँ मिनेटमा राइट–ब्याक पेड्रो पोरोले ड्यानी ओल्मोसँग उत्कृष्ट ‘वान–टु’ पास खेल्दै फ्रान्सेली रक्षापङ्क्ति छलेर बललाई पोस्टको तल्लो कुनामा प्रहार गर्दै टोलीको अग्रता दोब्बर बनाए।

दुई गोलले पछि परेपछि फ्रान्सले रेयान चेर्की र डेसिरे डोउलाई मैदानमा उतार्दै खेलमा फर्किने प्रयास गर्यो। स्टार फरवार्ड किलियन एम्बाप्पेले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि स्पेनका डिफेन्डर मार्क कुकुरेला र गोलरक्षक उनाई सिमोनको सशक्त प्रदर्शनका कारण फ्रान्स गोल गर्न असफल रह्यो।

यस जितसँगै स्पेनले प्रतियोगिताका सात खेलमध्ये छ खेलमा ‘क्लिन सिट’ राख्दै आफ्नो बलियो रक्षापङ्क्तिको प्रमाण दिएको छ।

ऐतिहासिक जितपछि स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले फ्रान्स विश्वकै उत्कृष्ट टोलीमध्ये एक भए पनि उक्त खेलमा आफ्नो टोली नै विश्वको सर्वश्रेष्ठ टोलीका रूपमा प्रस्तुत भएको प्रतिक्रिया दिए।

उत्कृष्ट प्रदर्शन गरेका पेड्रो पोरो ‘प्लेयर अफ दि म्याच’ घोषित भए।

सन् २०१० को विश्वविजेता स्पेनले अब आइतबार न्युयोर्क–न्युजर्सी स्टेडियममा हुने फाइनलमा इङ्गल्याण्ड र अर्जेन्टिनाबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। पराजित फ्रान्सले भने शनिबार हुने तेस्रो स्थानको खेलमा कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस