FLASH NEWS

नेपालभर मनसुन विस्तार, मौसम विभागद्वारा सतर्क रहन आग्रह

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ १७, बुधबार (२ घण्टा अघि)
  • ३५

    Shares

नेपालभर मनसुन विस्तार, मौसम विभागद्वारा सतर्क रहन आग्रह

काठमाडौं: नेपालभर यस वर्षको मनसुन पूर्ण रूपमा फैलिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्म पुगेको छ। आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा पनि मनसुन विस्तार भएसँगै यो वर्ष मनसुन प्रणाली देशैभर पुगेको हो।

नेपालमा सामान्यतया जुन १३ मा पूर्वी भू–भागबाट मनसुन प्रवेश गरी करिब एक साताभित्र देशभर फैलिने गर्दछ। तर यस वर्ष सरदर मितिभन्दा ६ दिन ढिलो, असार ५ गते (जुन १९) कोशी प्रदेशको पूर्वी क्षेत्रमा मनसुन प्रवेश गरेको थियो। त्यसपछि असार ८ गते (जुन २२) सम्म कोशी प्रदेशको बाँकी भू–भाग, मधेस, बागमती, गण्डकीको केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुन विस्तार भएको थियो। यस वर्ष भने देशभर मनसुन फैलिन कुल १२ दिन लागेको महाशाखाले जनाएको छ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा पूर्ण बदली रहेको छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाको बुधबारको पूर्वानुमानअनुसार आज देशभर पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विभागले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाउँदै अद्यावधिक मौसम सूचना हेरेर आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस