
२९
Shares
धादिङ: साहित्यकार केशवप्रसाद रुपाखेतीको ७५ औँ जन्मदिनको अवसर पारेर उहाँद्वारा लिखित तेस्रो मौलिक कृति ‘रमणीय धुनीबेसी’ कविता सङ्ग्रहको लोकार्पण गरिएको छ।
धादिङको धुनीबेसी नगरपालिका–८, बाहुनडाँडास्थित मुक्तिनाथ मन्दिर परिसरमा आयोजित विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो। मुक्तिनाथ सेवा समाज, धुनीबेसी–८, बाहुनडाँडा तथा कुल शिरोमणि दशरथ स्मृति प्रतिष्ठान को संयुक्त आयोजनामा बिहीबार कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा वक्ताहरूले साहित्यकार रुपाखेतीले नेपाली साहित्यको विकासमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै उहाँका सिर्जनाले समाज, संस्कृति र स्थानीय परिवेशलाई उजागर गरेको बताएका थिए। ‘रमणीय धुनीबेसी’ कविता सङ्ग्रहले धुनीबेसी क्षेत्रको प्राकृतिक सौन्दर्य, सामाजिक जीवन र सांस्कृतिक विशेषतालाई साहित्यिक रूपमा प्रस्तुत गरेको चर्चा गरिएको थियो।



दिलिप चालिसेको सभा अध्यक्षको अध्यक्षतामा भएको समारोहमा साहित्यकार रुपाखेतीको दीर्घ साहित्यिक यात्राको सम्मानसमेत गरिएको थियो। आयोजक संस्थाका प्रतिनिधिहरूले उहाँको अर्को नयाँ कृतिसमेत आगामी वर्ष यही स्थानबाट सार्वजनिक गरिने जानकारी दिएका थिए।
कार्यक्रममा धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, विभिन्न क्षेत्रका कवि तथा साहित्यकार, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीयवासी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साहित्य, संस्कृति र स्थानीय पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले धुनीबेसी क्षेत्रमा साहित्यिक गतिविधिलाई थप ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन्।







