
४७
Shares
थाक्रे: थाक्रे गाउँपालिका र ICDC को आयोजना तथा ActionAid को आर्थिक सहयोगमा लैङ्गिक हिंसा (GBV) नीति तथा रिफरल प्रणाली सम्बन्धी सरोकारवालाहरूका लागि तीनदिने तालिम सम्पन्न भएको छ।



उक्त तालिममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। तालिमको मुख्य उद्देश्य लैङ्गिक हिंसा न्यूनीकरण, पीडितमैत्री सेवा प्रवाह तथा प्रभावकारी रिफरल प्रणालीमार्फत पीडितलाई आवश्यक स्वास्थ्य, कानुनी, मनोसामाजिक तथा संरक्षण सेवामा सहज पहुँच सुनिश्चित गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा लैङ्गिक हिंसाका प्रकार, रोकथामका उपाय, पीडितको गोपनीयता, सुरक्षित रिफरल प्रक्रिया तथा स्थानीय तहको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। साथै, “हिंसाको अन्त्य, पीडितमैत्री न्याय” भन्ने सन्देशलाई व्यवहारमा उतार्न सबै सरोकारवालाले समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड दिइएको थियो।
मंगलबार सम्पन्न समापन कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष तथा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले तालिम अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै सहभागीहरूले तीन दिनको अवधिमा धेरै ज्ञान र अनुभव हासिल गरेकोमा विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिममा सिकेका विषयवस्तुलाई व्यवहारमा लागू गर्न तथा समुदायमा समेत जानकारी प्रवाह गर्न आग्रह गर्नुभयो।
समापन कार्यक्रममा गाउँपालिकाकी पूर्व उपाध्यक्ष अम्बिका रुपाखेती, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल, ICDC का उत्तम तिमल्सिना, शान्ता हमाल लगायतको उपस्थिति रहनु भएको थियो।
तीन दिनसम्म सञ्चालन भएको उक्त तालिमको सहजीकरण कर्णबहादुर नेपालीले गर्नुभएको थियो।
आयोजकका अनुसार यस्ता सचेतनामूलक तथा क्षमता विकास कार्यक्रमले लैङ्गिक हिंसामुक्त, सुरक्षित र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, हिंसाबाट प्रभावित व्यक्तिहरूलाई आवश्यक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा तथा अन्य सहयोग उपलब्ध गराउन रिफरल प्रणालीलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।








