
२३
Shares
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को पहिलो खेलमा एसियाली पावरहाउस जापानले बलियो प्रतिद्वन्द्वी नेदरल्याण्ड्सलाई २–२ गोलको रोमाञ्चक बराबरीमा रोकेको छ।



डलास स्टेडियममा सम्पन्न खेलमा दुई पटक पछि परेको अवस्थाबाट पुनरागमन गर्दै जापानले खेलको अन्तिम समयमा महत्त्वपूर्ण अंक बटुल्न सफल भयो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै आक्रामक र रोमाञ्चक बन्यो। खेलको ५०औँ मिनेटमा रायन ग्राभेनबर्चको क्रसमा कप्तान भर्जिल भान डाइकले उत्कृष्ट हेडमार्फत गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए।
तर, कतार विश्वकप २०२२ मा जर्मनी र स्पेनविरुद्ध पनि पछि परेर पुनरागमन गर्दै जित निकालेको इतिहास बोकेको जापानले यस खेलमा पनि त्यही जुझारुपन देखायो। केइतो नाकामुराले डिबक्सबाहिरबाट गरेको शानदार प्रहार गोलमा परिणत भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो।
खेलको ६४औँ मिनेटमा नेदरल्याण्ड्सका युवा विङ्गर क्रिसेन्सियो समरभिलले जापानी डिफेन्डरलाई छलाउँदै सुन्दर गोल गरेपछि डच टोली पुनः २–१ ले अघि बढ्यो। नेदरल्याण्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानको टोली जिततर्फ अग्रसर देखिएको बेला जापानले अन्तिम समयमा नाटकीय पुनरागमन गर्यो।
जापानका परिवर्तित खेलाडी कोकी ओगावाले गरेको सशक्त हेडर डच गोलकिपर बार्ट भर्ब्रूगेनले रोक्ने प्रयास गरेका थिए। तर बल दाइची कामादासँग ठोक्किँदै गोलमा परिणत भएपछि जापानले हार टार्न सफल भयो।
पहिलो हाफमा नेदरल्याण्ड्सका फरवार्ड डोन्येल मालेन र कोडी गाक्पोका प्रहारहरूलाई जापानी गोलकिपर जायन सुजुकीले उत्कृष्ट बचाउ गर्दै विफल पारेका थिए।
यस रोमाञ्चक बराबरीसँगै समूह ‘एफ’ मा दुवै टोलीले १–१ अंक बाँडेका छन्।






