













२९
Shares
हेटौँडा : नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा “मिडिया सम्मेलन २०८३” शुक्रबारदेखि हेटौँडामा सुरु भएको छ। बागमती प्रदेशभरिका सञ्चारकर्मी, पत्रकारिता क्षेत्रका सरोकारवाला तथा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागितामा सुरु भएको सम्मेलनले पत्रकारिता क्षेत्रका समसामयिक विषयमा व्यापक बहस र छलफल गर्ने अपेक्षा गरिएको छ।



सम्मेलनको उद्घाटन इन्द्रबहादुर बानियाँ ले गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा नागरिकलाई सुसूचित गराउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले बदलिँदो सूचना–प्रविधिको युगमा पत्रकारितालाई अझ जिम्मेवार, तथ्यपरक र विश्वसनीय बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर ले गर्नुभएको थियो। अध्यक्ष मगरले पत्रकारिता क्षेत्रले सामना गरिरहेका चुनौतीहरूको समाधान खोज्न तथा सञ्चार क्षेत्रलाई थप सशक्त र व्यावसायिक बनाउन सम्मेलन महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।
सम्मेलनमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी, महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष नितु पण्डित, कोषाध्यक्ष रामकृष्ण अधिकारी लगायत केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो। साथै प्रदेश सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, सञ्चार क्षेत्रका अगुवा, मानवअधिकारकर्मी तथा पत्रकारसम्बद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, सञ्चार नीति, डिजिटल पत्रकारिताका चुनौती र अवसर, पत्रकारहरूको पेशागत सुरक्षा, मिडियाको दिगोपन, सूचना प्रविधिको प्रभाव तथा सञ्चार क्षेत्रको सुदृढीकरणलगायत विषयमा गहन छलफल गरिने जनाइएको छ। सम्मेलनका विभिन्न सत्रहरूमा विज्ञ, सञ्चारकर्मी तथा सरोकारवालाहरूले आफ्ना अनुभव, सुझाव र धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा महासंघका जिल्ला अध्यक्षहरू, प्रदेश परिषद् सदस्यहरू, सञ्चारकर्मी, सञ्चारगृहका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको छ। सम्मेलनले पत्रकारिता क्षेत्रका विद्यमान समस्या, चुनौती र अवसरबारे साझा निष्कर्ष निकाल्दै नीतिगत सुधारका लागि महत्वपूर्ण सुझावहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।






