













४७
Shares
थाक्रे: महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तीन दिने हेयर एक्सेसरिज तालिम कार्यक्रम सम्पन्न भएको छ।



सृष्टि फाउन्डेसन नेपाल को आयोजनामा सम्पन्न उक्त तालिममा २१ जना महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा प्रशिक्षकका रूपमा रजनी लामा र गंगा लामाले सहभागीहरूलाई आधुनिक हेयर एक्सेसरिज निर्माण, डिजाइन तथा बजार व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्नु भएको थियो। तालिम अवधिभर सहभागीहरूले विभिन्न प्रकारका हेयर ब्यान्ड, क्लिप, सजावटी सामग्री तथा हस्तकलासम्बन्धी सामग्री निर्माण गर्ने सीप सिकेका थिए। प्रशिक्षकहरूले सीपसँगै व्यवसाय सञ्चालनका आधारभूत विषयहरूबारे समेत जानकारी गराएका थिए।
समापन कार्यक्रममा सभा अध्यक्ष अम्बिका रुपाखेतीले महिलाहरू आर्थिक रूपमा सक्षम बन्न यस्ता सीपमूलक तालिम अत्यन्त आवश्यक रहेको बताउनु भयो। उहाले महिलाले सीप सिकेर आफ्नै घरबाट सानो व्यवसाय सुरु गर्न सक्ने र यसले परिवारको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नु भयो।
कार्यक्रमका प्रमुख अतिथि रामकुमार आचार्य ले महिलाहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो। उहाले स्थानीय तहले पनि महिलाहरूको आयआर्जन तथा उद्यमशीलता विकासका लागि विभिन्न सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्नु भयो। सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सहभागी महिलाहरूलाई उहाले आग्रह समेत गर्नु भयो।
त्यसैगरी कार्यक्रममा अतिथिका रूपमा उपस्थित बलराम लम्साल ले तालिमले महिलाहरूमा आत्मविश्वास वृद्धि हुनुका साथै स्वरोजगार सिर्जना गर्न सहयोग पुग्ने बताउनु भयो। उहाले सीप र मेहनतको सही उपयोग गर्न सके महिलाहरूले आफ्नै पहिचान स्थापित गर्न सक्ने धारणा राख्नु भयो।
तालिममा सहभागी महिलाहरूले पनि कार्यक्रम निकै फलदायी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले तालिमबाट नयाँ सीप सिक्न पाएको र आगामी दिनमा यसलाई व्यवसायका रूपमा अघि बढाउने योजना रहेको बताएका छन्। विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूका लागि यस्ता तालिम अवसरमूलक र प्रेरणादायी भएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रमको अन्त्यमा तालिममा सहभागी २१ जना महिलाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रमाणपत्र वितरणसँगै सहभागीहरूलाई आगामी दिनमा सिकेको सीपलाई व्यवहारमा लागू गरी आत्मनिर्भर बन्न शुभकामना दिइएको थियो।
आयोजक सृष्टि फाउन्डेसन नेपाल सहयोजना, थाक्रे गाउपालिकाको समन्वय तथा अरुणिमा इन्टर्प्राइजेज को ब्यबस्थापन गरेको सस्थाले आगामी दिनमा पनि महिलाहरूको क्षमता अभिवृद्धि, स्वरोजगार तथा उद्यमशीलता विकासका लागि यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।






