













४६
Shares
राजाराम डंगोल
धादिङ: सरकारले आज एकैपटक चारवटा ठूला र महत्त्वपूर्ण निर्णयहरू गरेको छ। प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई राहत दिनेदेखि सहकारी ठगहरूलाई कानुनी कठघरामा ल्याउनेसम्मका दूरगामी निर्णयहरू गरेको हो।
सरकारले यसपटक किसानहरू दलाल र बिचौलियाबाट ठगिने क्रम रोक्नका लागि बाली लगाउनु अघि नै वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। वर्षे धान बालीको न्युनतम मुल्य मोटा धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैंया र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैंया तोकिएको छ ।
लाखौँ बचतकर्ताको उठीबास लगाउने सहकारी ठगी र बेथितिविरुद्ध सरकार कडा रूपमा प्रस्तुत भएको छ। बैठकले सहकारी क्षेत्रको विकृति केलाउन गठित आयोगको प्रतिवेदनलाई सार्वजनिक गर्ने निर्णय गरेको छ। दोषीलाई तत्काल कानूनी कठघरामा उभ्याउने र वर्षौ देखि आफ्नो बचत फिर्ता नपाएर छट्पटीएका पीडित बचतकर्तालाई चाँडै न्याय दिन यस निर्णयले महत्वपुर्ण भुमिका खेल्ने बताइएको छ ।
नेपाल र चीन जोड्ने महत्त्वपूर्ण चिलिमे(केरुङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तरपत्रलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। यो सँगै दुई देशबीचको ऊर्जा व्यापारका लागि कानुनी र कूटनीतिक बाटो खुला भएको छ।
लामो समयदेखि रिक्त रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सरकारले सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ।









